बझाङका सुरेन्द्रबहादुर थापाले रोजगारीका लागि विदेश वा अन्यत्र जानुभन्दा आफ्नै गाउँको माटोमा सम्भावना खोज्दै कृषि उद्यम सुरु गर्नुभएको छ। जयपृथ्वी नगरपालिका–११, पिठालेखमा सञ्चालित निलकट्टि बहुउद्देश्यीय कृषि फार्ममा उहाँले नर्सरीसँगै कागती, अमिला, ओखर, तिमुर तथा मौसमी–बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ। आठ रोपनी जमिनमा गरिएको कृषि कर्मबाट राम्रो वर्षमा नर्सरीबाट मात्रै दुईदेखि पाँच लाख रुपैयाँसम्मको बिरुवा बिक्री हुने गरेको छ। सिँचाइको अभाव मुख्य चुनौती भए पनि स्थानीय बजार र सडकको पहुँचलाई उपयोग गर्दै कृषि व्यवसाय विस्तार गर्ने उहाँको लक्ष्य छ।
विदेशमा १५ वर्ष काम गरेपछि आफ्नै देशमा केही गर्ने संकल्पसहित फर्किएका पहलवान देउवा आज कृषि तथा पशुपन्छी क्षेत्रमा उदाहरणीय उद्यमी बनेका छन्। करिब ४ करोड रुपैयाँबाट सुरु भएको पोल्ट्री व्यवसायलाई विस्तार गर्दै उनले अहिले करिब १० करोड रुपैयाँको लगानीमा विभिन्न उत्पादनमूलक कृषि तथा पशुपन्छी व्यवसाय सञ्चालन गरिरहेका छन्। बाँझो जमिनलाई उत्पादनमा जोड्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र स्वदेशी उत्पादन बढाउने उनको अभियान प्रेरणादायी छ।
एस.के. कृषि तथा माछापालन प्रा.लि. — व्यावसायिक माछापालन
एस.के. कृषि तथा माछापालन प्रा.लि. कैलालीमा सञ्चालित व्यावसायिक माछापालन फर्म हो। सञ्चालक कृष्ण गिरीले वि.सं. २०५४ सालदेखि माछापालन गर्दै आएका छन्। फर्ममा विभिन्न ११ प्रजातिका माछा उत्पादन तथा बिक्री हुँदै आएको छ। व्यवसायले स्थानीय रोजगारी सिर्जना गर्दै स्वदेशी माछा उत्पादनमा योगदान पुर्याउँदै आएको छ।
कैलालीका मयाराम जैसीले २०७३ सालमा तीनवटा भैँसीबाट सुरु गरेको पशुपालन व्यवसाय आज करोडभन्दा बढी लगानी भएको व्यावसायिक फार्ममा परिणत भएको छ। दैनिक ९०–१२० लिटर दूध उत्पादनसँगै स्थानीय किसानको दूध सङ्कलन गरी बजारमा बिक्री गर्दै आएका जैसीले गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गरेका छन्।