vip.malla20@gmail.com

गोदावरी धाम कैलाली

गोदावरी धाम :-

धार्मिक रुपमा पवित्रस्थल मानिएको कैलालीको गोदावरी धाम राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा धार्मिक आस्थाको केन्द्र बन्दै गएकोछ । कैलाली जिल्लाको सदरमुकान धनगढी देखि २० किमि दुरिमा रहेको गोदावरी धाम जसको नामबाट गोदावरी नगरपालिका पनि राखिएकोछ । गोदावरी धाममा प्रतेक बर्ष पुस ३० गते बाह्रराशि दर्शन मकरमेलाको शुभारम्भ गर्ने गरिन्छ । हालसम्म लाखौँ दर्शनार्थीहरू गोदावरी धाममा विभिन्न क्रियाकलापका लागि आएको गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताउनु हुन्छ । उनका अनुसार बाह्रराशि दर्शन मकरमेलाको पहिलो दिन विभिन्न स्थानबाट आएका भक्तजनको धाममा निकै घुइँचो लागेको थियो । धाममा विभिन्न धार्मिक गतिविधि भइराख्ने भएकाले नेपालका मात्रै नभई छिमेकी राष्ट्र भारतका विभिन्न स्थानबाट समेत भक्तालु तथा दर्शनार्थी आउने गरेका छन् । भारतको राजस्थान, पञ्जाब, दिल्ली, लखनऊ, उत्तराखण्ड, बरेली, हरियाणालगायत स्थानबाट दर्शनार्थी आउने गरेको समितिका अध्यक्ष जोशीको भनाइ छ ।  नेपालको सुदूरपश्चिमलगायत, कर्णाली, लुम्बिनी प्रदेशबाट मानिस गोदावरी धाममा आउने गरेको आयोजकले बताएको छ । धाममा पाञ्चायन देवताको पाँच पुराण र चारवेद पाठ भइरहेको छ । ग्रहपूजा, हवन, ध्यान, योग, जपलगायत धार्मिक क्रियाकलाप भइरहेको छ । दिनहुँ सयभन्दा बढी व्रतबन्ध, विवाह जस्ता धार्मिक कार्यक्रम भइरहने हुन्छ ।   मेलाकै अवसरमा बाह्रराशि नवग्रह, २७ नक्षेत्रको स्थापना तथा लक्ष्यहवन, विभिन्न पुराण पारायण, भजनकीर्तन, प्रवचन आदि भइरहेको आयोजक गोदावरीधाम विकास समितिले जनाएको छ । माघ महिनामा विभिन्न धार्मिक कार्यक्रम तथा शुभकार्य गरिने भएकाले पनि यस समयमा झनै मानिसको घुइँचो लाग्ने गरेको छ । धाममा कुम्भबाटिका, स्नान कुण्डलगायत संरचना निर्माण गरिएका छन् । मेलाको लागि गोदावरीमा स्थानीय बजार लागेका छन् । यस समयमा १२ दिनसम्म आआफ्नो राशिको ग्रह पूजा, ग्रह शान्ति र अन्य पूजा गर्ने गर्दछन ।