स्थापनाः २०३१ साल (सन् १९७६) म. क्षे. स्थापनाः २०६१ साल (सन् २००४) क्षेत्रफलः ३०५ वर्ग कि.मि. म. क्षे. क्षेत्रफलः २४३.५ वर्ग कि.मि. यो राष्ट्रिय निकुन्ज ७ नं. प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको नेपाल–भारत सिमानामा दक्षिण पश्चिम कुनामा अवस्थित छ । महाकाली नदीको पुरानो बहाव क्षेत्र भएको कारण विकसित हुनआएका फाँटाहरू, धाप र सिमभूमि यस निकुन्जको प्रमुख विशेषता हो । निकुन्जका कारण नेपालको पश्चिमी तराईमा पाइने वन्यजन्तु तथा चराचुरुङ्गीहरूको बासस्थानको संरक्षण हुन पुगेको छ । यो निकुन्ज बाह्रसिंगाको लागि प्रसिद्ध छ । सन् २०१४ मा यस निकुन्जमा २,३०१ वटा बाह्रसिंगा गणना गरिएको छ । यो निकुन्ज जंगली हात्तीका लागि पनि उत्तिकै प्रख्यात छ । यहाँ करिब २०–२५ वटा जंगली हात्ती रहेका छन् । सन् २०१७ को गणना अनुसार यस निकुञ्जमा एकसिंङ्गे गैडाको संंख्या १६ वटा रहेको छ भने सन् २०१८ मा गरिएको गणना अनुसार यस निकुन्जमा बाघको संख्या १६ रहेको छ । निकुन्जको अधिकतम भाग सालको जंगलले ढाकिएको छ । बाँकी सिसौ र खयरको जंगल र घाँसे मैदान छ । जंगली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंगा, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर यस निकुन्जका प्रमुख वन्यजन्तु हुन् । त्यस्तै रानी ताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् भने रैथाने र बसाई सरी आउने गरी ४२४ भन्दा बढी चराचुरुङ्गीहरू पाइन्छन् । वन्यजन्तु अवलोकनका लागि यो निकुन्ज स्वर्ग मानिन्छ । मध्यवर्ती क्षेत्रमा सहभागितामूलक संरक्षण, विकास र आयआर्जनका विभिन्न कार्यक्रमहरू संचालनमा रहेका छन् । निकुन्जभित्र रहेको बस्ती स्थानान्तरण गर्दाको जग्गा समस्या समाधान नहुनु र चरिचरण यस निकुन्जको प्रमुख समस्याको रूपमा रही आएको छ