vip.malla20@gmail.com

श्री मेलाैली भगवती मन्दिर बैतडी

मेलौली भगवतिको पुजा जात्रा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाको दिन हुन्छ । असोज महिनाका नवरात्र र चैत्रमहिनाका नवरात्रमापनि मेलौली भगवतीको नित्य बलि–पूजा हुने गर्दछ । चतुर्दशीका दिन साँझ चार बजे तिर रोकटागाँउबाट आउने चन्दहरूको चौलो धेरै आकर्षक हुन्छ । यो चौलो हेर्न देश विदेशबाट धेरै पर्यटकहरु आएका हुन्छन् । भक्तहरू जात्राकादिन मेलौली भगवतीको भण्डारघरबाट ‘चकडोल’ निकाली बाजा–गाजा र सयकडौ राँगा–बोकाका साथ धुमधामसंङ्ग मेलौलीको मन्दीरतर्फ प्रस्थान गर्दछन् । त्यस दिन नजिकै रहेका पोखरीगाउँ, रोकटागाउँ, झुरकालीगाउँ, खलगाःड , मेलौली, काँडा, लगायत भारत उत्तराञ्चल राज्यबाट समेत ठूलो संख्यामा भक्तजनहरु आउँने गर्दछन् । भोलिपल्ट पूर्णिमाको बिहान सूर्योदयको शुभ–मुहूर्तमा यी दुर्गास्वरुप भगवतीको पूजा भैसकेपछि मेलौली र उदयदेवका मूख्यधामीका अतिरिक्त अन्य सबै स्थानीय धामीहरू आफ्नो प्राचीन भेषभुसा झल्काउने किसिमको पोसाक चन्दन,आभूषण, इत्यादि लगाई काम्न सुरु गर्दछन् । सो जात्रामा भक्तहरू देवीको भण्डारघरबाट दाइन–दमाउ नरसिंश बाजा,छडि,झाझ,भोक्कर,त्रिशुल,ध्वजा,नेजा,गाँज लगायतका देवीका सरसामानहरु निकाली जुलुसमा सहभागी हुन्छन् । मेलौली र उदयवेवका धामीमा कम्पन आइसकेपछि उनिहरु दुवै चकडोलमा सवार हुन्छन् भने बाँकी धामीहरू तल चकडोल मुनिनै रहन्छन् । चक्डोलको दायाँ–बायाँ अगाडि भट्ट र पछाडि नायकथरका दशौँ मानिसहरूको काँधमा ‘चकडोल’ जात्रा चल्दछ । जात्रा उत्तरदिशातिर अगाडि बढीसकेपछि मेलौलीका धामीले ग्वाल्लेक केदारको दर्शनगर्दै दायाँहातको बुढिऔला देखाएर आफ्नो शक्तिको प्रदर्शन गर्दछन् । दिउसो २ बजेतिर नायक मुखियाको घरबाट दुइघण्टाको लागि दीपचन्दका सन्तानहरुलाइ घोडामा सवार गराइन्छ । हतरंङ्गागाउँका भट्टहरूले ल्याउँने विशाल गाँजको दर्शनहुने वित्तिकै उनिहरूलाई घोडाबाट सम्मानकासाथ तल ओरालिन्छ । त्यसपछि साँझ ५बजेतिर जात्राको अन्त्य हुन्छ । मेलौली भगवती मन्दिर बैतडी जिल्ला मेलौली नगरपालिकामा अवस्थित छ । जनश्रृति अनुसार यो मन्दिर १८ औं शताब्दी तिर निर्माण गरिएको हो । यो स्थल बैतडी जिल्लाको सदरमुकाम बैतडीबाट दक्षिण दिशामा पर्दछ र त्यहाँबाट ५५ कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन पैदल ५ घण्टा समय लाग्दछ । यहाँ पुग्ने सडक बाटोको प्रकृति पाटनसम्म पिच र त्यस पछि ग्राभेल छ । जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो गोठालापानी, पाटन, सलेना, मेलौली हो । यस जिल्लाको सदरमुकाम पुग्न कैलाली जिल्लाको अत्तरियाबाट महाकाली राजमार्ग हुदै १० घण्टा लाग्छ । यहाँको मौसम सामान्यतया चिसो छ । यो धार्मिक स्थल मेलौली देवीको लागि प्रसिद्ध छ । यहाँ मंसिर महिनाको पूर्णिमा तिथिमा जात्रा लाग्दछ । यस जात्रामा धेरै मानिसहरु भेला हुन्छन् र पुजा गर्छन् । जात्रामा राँगा र बोकाको बलि पनि दिन्छन् । यस स्थलको (मन्दिर) को खास विशेषता १३४ रोपनी क्षेत्रफलमा फैलिएको रमणिय स्थल, स्थानिय ढुङ्गाले बनाएको प्यागोडा सैलिको मन्दिर रहेको छ ।